मेरो शिक्षा झरीका थोपाहरूजस्ता खस्नेछ, र पृथ्वीमा शीतझैँ जम्नेछ। मेरो वचन कलिला बिरुवाहरूमाथि सिमसिमे पानी परेझैँ र दुवोमाथि हलुकारूपमा पानी परेझैँ खस्नेछ।
“परमप्रभु तिम्रा प्रतापी रक्षक हुनुहुन्छ, सबै कुरामा सिद्ध र न्यायी हुनुहुन्छ। तिम्रा परमेश्वर विश्वासयोग्य र सत्य हुनुहुन्छ, जे कुरा ठीक र न्यायपूर्ण छ, त्यो उहाँले गर्नुहुन्छ।
हे मूर्ख र बेहोशी जाति! के यसरी नै तिमीहरूले परमप्रभुसित कुराकानी गर्नुपर्थ्यो? उहाँ तिम्रा बुबा, तिम्रा सृष्टिकर्ता हुनुहुन्छ, उहाँले तिमीहरूलाई एउटा जाति बनाउनुभयो।
“उहाँले तिनीहरूलाई उजाड-स्थान बीचबाट भएर डुलिरहेका भेट्टाउनुभयो, त्यो उराठलाग्दो बतासले ध्वस्त पारेको उजाड-स्थान थियो। उहाँले तिनीहरूको रक्षा गर्नुभयो र वास्ता गर्नुभयो, आफ्नै रक्षा गरेझैँ तिनीहरूको रक्षा गर्नुभयो।
“उहाँले तिनीहरूलाई अग्ला पहाडी ठाउँहरूमा राज गर्न दिनुभयो र खेतबारीमा उब्जेका थोक तिनीहरूले खाए। चट्टानमा तिनीहरूले जङ्गली मह पाए, ढुङ्गेनी ठाउँमा तिनीहरूका जैतुनका रूखहरू लहलह भई फैलिए।
“परमप्रभुका प्रजा धनी भए तर विद्रोही भए, तिनीहरू मोटाएका र खानाले टम्म अघाएका थिए, तिनीहरूले आफ्ना सृष्टिकर्ता परमेश्वरलाई त्यागे, र आफ्ना प्रतापी उद्धारकर्तालाई इन्कार गरे।
मूर्तिद्वारा तिनीहरूले मलाई रिस उठाएका छन्, ईश्वर भनाउँदा देवताहरू, जो ईश्वर होइनन्, तिनीहरूद्वारा मलाई ईर्ष्यालु बनाएका छन्। यसर्थ एउटा बेकामको जातिद्वारा तिनीहरूलाई रिस उठाउनेछु, मुर्खहरूका जातिद्वारा तिनीहरूलाई ईर्ष्यालु तुल्याउनेछु।
लडाइँले सडक-सडकमा मृत्यु ल्याउनेछ, घर-घरमा डरलाग्दा कुराहरू आइलाग्नेछन्। जवान पुरुष र स्त्री मर्नेछन्, बुढा मानिस र केटा-केटीहरू पनि बाँच्नेछैनन्।
किन तिनका एक हजारको हार एक जनाको हातमा? दश हजारको हार दुई जनाको हातमा भयो? परमप्रभु तिनका परमेश्वरले तिनीहरूलाई त्याग्नुभएको थियो, तिनका प्रतापी परमेश्वरले छोडिदिनुभएको थियो।
परमप्रभुले आफ्ना प्रजालाई उद्धार गर्नुहुनेछ जब तिनीहरूको बल सकेको उहाँले देख्नुहुनेछ उहाँले आफ्ना सेवा गर्नेहरूमाथि कृपा गर्नुहुन्छ, जब तिनीहरू असहाय भएको देख्नुहुन्छ।
आफ्ना बलिको बोसो तिमीहरूले तिनलाई खुवायौ, र पिउनलाई मद्य चढायौ। अहिले तिनीहरू नै आएर तिम्रो सहायता गरून्, तिमीहरूलाई उद्धार गर्नको लागि तिनीहरू दगुरेर आऊन्।
“ ‘म अँ! ममात्र परमेश्वर हुँ, अरू कुनै ईश्वर सत्य छैन। म मार्दछु, म जीवन दिँदछु, म चोट लाउँदछु अनि निको पार्दछु, मैले गरेका कामको विरोधमा कसैले केही गर्न सक्दैन।
म आफ्नो झलझल चम्कने तरवारमा शान लाउनेछु, र सबै विषयमा न्याय गराइछोड्नेछु। म आफ्ना शत्रुहरूसित बदला लिनेछु, र मलाई घिन गर्नेहरू सबैलाई सजायँ दिनेछु।
मेरा वाणहरू तिनीहरूको रगतमा डुबाउनेछु र मेरो तरवारले मलाई विरोध गर्ने सबैलाई मार्नेछ। मसित लडाइँ गर्ने कसैलाई म छोड्नेछैनँ; घाइते र कैदीहरू पनि मर्नेछन्।’
“मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू पालन गर्ने निश्चय गर। ती तिम्रा छोरा-छोरीहरूलाई दोहोर्याइदिनू र तिनीहरूले विश्वासयोग्यतासाथ परमेश्वरका शिक्षाहरू मानून्।