×

नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012

२ तिमोथी ३

1
तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्‍दा समयहरू आउनेछन्‌।
2
किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,
3
स्‍वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्‍वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने,
4
विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने,
5
भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस।
6
किनभने तिनीहरूमध्‍ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्‍न मनोभावको कब्‍जामा परेका कमजोर स्‍त्रीहरूलाई आफ्‍ना अधीनमा पार्छन्‌।
7
जुन स्‍त्रीहरू सिक्‍न त सधैँ सिक्‍छन्, तर सत्‍यको ज्ञानमा कहिल्‍यै आउन सक्‍दैनन्‌।
8
यान्‍नेस र याम्‍ब्रेसले मोशाको विरोध गरेजस्‍तै, यी मानिसहरूले पनि सत्‍यको विरोध गर्छन्‌। यी मानिसहरू भ्रष्‍ट दिमागका र नक्कली विश्‍वासका हुन्‍छन्‌।
9
तर तिनीहरू अझ धेरै टिक्‍न सक्‍नेछैनन्, किनकि ती दुई मानिसको जस्‍तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ।
10
अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्‍वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्‍थिरता देखेका छौ,
11
मेरा सतावटहरू र मेरा कष्‍टहरू एन्‍टिओखियामा, आइकोनियनमा र लुस्‍त्रामा ममाथि के पर्न आयो र कस्‍ता-कस्‍ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो।
12
ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,
13
तर दुष्‍ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌-झन्‌ दुष्‍ट हुँदैजानेछन्‌।
14
तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्‍वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्‍दछौ।
15
तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिको निम्‍ति तिमीलाई शिक्षा दिन सक्‍छ।
16
सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,
17
ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस्‌।
Nepali Bible (NNRV) 2012
Nepali New Revised Version Nepal Bible Society 1997, 2006, 2009, 2012
:
नोटहरू बचत गर्नुहोस्