सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| यहोशूले यरीहो र त्यसका राजालाई झैँ ऐ र त्यसका राजालाई पूरा नाश पारेछन् अनि आफ्ना अधीन गरेछन् भनी यरूशलेमका राजा अदोनिसेदेकले सुने। गिबोनका मानिसहरूले इस्राएलीहरूसित सन्धि-पत्र गरेका छन् र तिनका माझमा बास गर्दै छन् भनेर पनि तिनले सुने। |
| 2 |
| त्यो सुनेर यरूशलेमका मानिसहरू साह्रै डराए किनभने गिबोन कुनै पनि राजा भएको सहर जतिकै ठूलो थियो, त्यो ऐभन्दा ठूलो थियो र त्यहाँका मानिसहरू असल लडाकु थिए। |
| 3 |
| यसकारण अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरकहाँ यस्तो खबर पठाए, |
| 4 |
| “आएर मलाई गिबोनमाथि हमला गर्न सघाउनुहोस् किनभने त्यहाँका बासिन्दाहरूले यहोशू र इस्राएलीहरूसित मिलाप गरेका छन्।” |
| 5 |
| यी पाँच एमोरी राजाहरू, यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूले आ-आफ्ना सेना एकै गरी मिलाए, गिबोनलाई घेरामा पारे र त्यसमाथि आक्रमण गरे। |
| 6 |
| गिबोनका मानिसहरूले गिलगालका छाउनीमा यहोशूकहाँ खबर पठाए, “हजुर, हामीलाई नत्याग्नुहोला! झट्टै आएर हाम्रो मद्दत गर्नुहोस्! हामीलाई बचाउनुहोस्! पहाडका सबै एमोरी राजाहरूले आफ्ना सेनाहरू एकैसाथ भेला भई हामीमाथि हमला गरेका छन्!” |
| 7 |
| यसकारण यहोशू र उनका सारा सेना, सबैभन्दा असल लडाकु दलसमेत गिलगालबाट हिंडे। |
| 8 |
| परमप्रभुले यहोशूलाई भन्नुभयो, “तिनीहरूसित नडरा मैले तँलाई विजय दिइसकेको छु। तिनीहरूमध्ये एक जना पनि तेरा विरुद्धमा उभिन सक्नेछैन।” |
| 9 |
| यहोशू र उनका सेना रातभरि हिँडी गिलगालदेखि गिबोनमा पुगे र एमोरीहरूमाथि अचानक आक्रमण गरे। |
| 10 |
| एमोरीहरूलाई इस्राएलको सेनाअघि परमप्रभुको डरले थरहरी पारे। इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा हराए र बेथ-होरोनको पहाडी बाटोमा ओह्रालो खेदेर लगे अनि दक्षिणमा आजेका र मक्केदासम्म हमला गरेर खेदे। |
| 11 |
| इस्राएली सेनादेखि भागेर एमोरीहरू ओह्रालोमा दगुरी जाँदा परमप्रभुले तिनीहरूलाई आजेकासम्म नै ठूला-ठूला असिनाको वर्षाले चुट्नुभयो। इस्राएलीहरूबाट भन्दा असिनाबाट तिनीहरू धेरै मारिए। |
| 12 |
| परमप्रभुले इस्राएलीहरूलाई एमोरीहरूमाथि विजय दिनुभएको दिन यहोशूले परमप्रभुसित कुरा गरे। इस्राएलीहरूको सामु उनले भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्र, तँ अय्यालोन बेसीमाथि, अडेर बस्!” |
| 13 |
| इस्राएली जातिले आफ्ना शत्रुलाई विजय नगरेसम्म सूर्य अडिरह्यो अनि चन्द्र रोकियो। यो याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको बीचमा अडिबस्यो र एक दिनभरि अस्ताएन। |
| 14 |
| त्यसको अघि वा पछि कहिल्यै पनि त्यस्तो दिन भएको छैन जब परमप्रभुले मानिसका कुरा मान्नुभएको थियो। परमप्रभुले इस्राएलपट्टि लागेर युद्ध गर्नुभयो! |
| 15 |
| त्यसपछि यहोशू र उनका सेना आफ्ना छाउनी गिलगालमा फर्की गए। |
| 16 |
| ती पाँच एमोरी राजाहरूचाहिँ भागेर मक्केदाका ओडारमा लुके। |
| 17 |
| कसैले तिनीहरूलाई देखे र तिनीहरू लुकेको ठाउँ यहोशूलाई बताइदिए। |
| 18 |
| उनले भने, “ओडारको मुखमा ठूला-ठूला ढुङ्गाहरू पल्टाइदेओ। त्यहाँ केही पहरादार राख। |
| 19 |
| तर तिमीहरू आफैं त्यहाँ नबस। शत्रुको पछि लागिरह र पछिबाट तिनीहरूमाथि आक्रमण गर। तिनीहरूलाई आफ्ना सहरमा पुग्न नदेओ! परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुभएको छ।” |
| 20 |
| यहोशू र इस्राएलका मानिसहरूले तिनीहरूलाई मारे। तरै पनि कति जना आफ्ना सहरभित्र सुरक्षा पाउन पुगे र मारिएनन्। |
| 21 |
| त्यसपछि यहोशूका सबै मानिसहरू कुशलसाथ मक्केदाको छाउनीमा उनीकहाँ फर्की गए। इस्राएलीहरूका विरुद्धमा त्यस देशका कसैले केही भन्ने आँट गरेन। |
| 22 |
| यहोशूले भने, “ओडारको मुख खोलेर ती पाँच राजाहरूलाई मकहाँ ल्याओ।” |
| 23 |
| ओडार उघारियो र यरूशलेम, हेब्रोन, यर्मूत, लाकीश र एग्लोनका राजाहरूलाई बाहिर निकालियो। |
| 24 |
| अनि यहोशूकहाँ हाजिर गराइयो। तब यहोशूले इस्राएलका सबै मानिसहरूलाई आफूनिर बोलाए र आफूसित आएका अधिकृतहरूद्वारा राजाहरूका घिच्रामा खुट्टाले टेक्न लाए। तिनीहरूले त्यसै गरे। |
| 25 |
| तब यहोशूले अधिकृतहरूलाई भने, “नडराओ अनि हताश नहोओ। साहस गर र भरोसा राख किनभने तिम्रा सबै शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुनेछ।” |
| 26 |
| त्यसपछि यहोशूले ती राजाहरूलाई मारेर पाँच वटा रूखमा झुन्डाए। त्यहाँ तिनका लाश साँझसम्म झुण्डिरहे। |
| 27 |
| घाम अस्ताउँदा यहोशूले आज्ञा गरे र तिनका लाश झारेर अघि तिनीहरू लुकेका ओडारमा फ्याँकिदिए। ओडारको मुखमा ठूल्ठूला ढुङ्गाहरू राखिदिए र ती ढुङ्गाहरू अझैसम्म त्यहीँ छन्। |
| 28 |
| त्यस दिन यहोशूले हमला गरी मक्केदा र त्यसका राजालाई कब्जा गरे। सहरमा भएका हरेकलाई तिनले मारे, कोही जिउँदो छोडिएन। तिनले यरीहोका राजालाई गरेझैँ मक्केदाका राजालाई पनि गरे। |
| 29 |
| त्यसपछि यहोशू र तिनका सेना मक्केदाबाट लिब्ना गए र त्यसलाई आक्रमण गरे। |
| 30 |
| परमप्रभुले त्यस सहर र त्यसका राजामाथि पनि इस्राएलीहरूलाई विजय दिनुभयो। तिनीहरूले कसैलाई छोडेनन् र त्यहाँ भएका सबै जनालाई मारे। यरीहोका राजालाई जस्तै त्यहाँका राजालाई पनि गरे। |
| 31 |
| त्यसपछि यहोशू र तिनका सेना लिब्नादेखि लाकीशमा गए र त्यसलाई घेरेर आक्रमण गरे। |
| 32 |
| लडाइँ भएको दोस्रो दिन परमप्रभुले इस्राएलीहरूका हातमा लाकीश दिनुभयो। लिब्नामा झैँ तिनीहरूले कसैलाई छोडेनन् तर सहरमा पनि हरेकलाई मारे। |
| 33 |
| गेजेरका राजा होरामचाहिँ लाकीशलाई मद्दत गर्न आए तर तिनी र तिनका सेनालाई यहोशूले हराए र कसैलाई जिउँदो छोडेनन्। |
| 34 |
| त्यसपछि यहोशू र तिनका सेना लाकीशबाट एग्लोन गए, त्यसलाई घेरा हाले र आक्रमण गरे। |
| 35 |
| त्यही दिन तिनीहरूले त्यो सहर हातमा लिए अनि लाकीशमा गरेझैँ त्यहाँका सबै जनालाई मारे। |
| 36 |
| [36-37] त्यसपछि यहोशू र तिनका सेना एग्लोनबाट उँभो पहाडतिर लागे र हेब्रोनमा पुगे अनि त्यसलाई आक्रमण गरी कब्जामा लिए। तिनीहरूले त्यसका राजा, प्रजा र अरू छेउ-छाउका सहरका मानिसहरूलाई पनि मारे। जसरी एग्लोनलाई गरेथे, त्यसरी नै हेब्रोन सहरलाई पनि पूरा विनाश गर्ने आज्ञा यहोशूले दिए। त्यहाँ भएको कोही पनि जिउँदो छोडिएन। |
| 37 |
| 38 |
| तब यहोशू र तिनका सेना दबीरतर्फ फर्के र त्यसमाथि हमला गरे। |
| 39 |
| त्यो राजासहित कब्जामा लिए र छेउछाउका सबै सहरहरू पनि कब्जा गरे। त्यहाँ भएका सबै मानिसहरूलाई तिनीहरूले मारे। जसरी हेब्रोन र लिब्ना र त्यहाँका राजाहरूलाई गरेथे, त्यसरी नै यहोशूले दबीर र त्यसका राजालाई पनि गरे। |
| 40 |
| यहोशूले सारा देश आफ्ना अधिकारमा लिए। तिनले पहाडी देश, पूर्वका भिरालो भूमि र पश्चिमका पहाडका फेदीमा भएका र दक्षिणका सुक्खा इलाकाका राजाहरूलाई जिते। तिनले कसैलाई छोडेनन्, सबै जनालाई मारे। परमप्रभु इस्राएलका परमेश्वरले त्यही आज्ञा दिनुभएको थियो। |
| 41 |
| यस धावामा यहोशू दक्षिणका कादेश-बर्नेदेखि समुद्र किनारमा भएको गाजा सहर र गोशेनको इलाका अनि उत्तरमा गिबोनसम्मै पुगे। |
| 42 |
| एकै धावामा यहोशूले ती सबै राजा र तिनका देशहरू आफ्ना अधिकारमा लिए किनभने परमप्रभु इस्राएलका परमेश्वर तिनीहरूका पक्षमा लडाइँ गर्दै हुनुहुन्थ्यो। |
| 43 |
| त्यसपछि यहोशू र तिनका सारा सेना गिलगालको छाउनीमा फर्के। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/joshua/010.mp3
24
10