त्यसपछि यहोशूले शित्तीमको छाउनीबाट दुई जना जासूसलाई कनान देश गएर विशेषगरी यरीहो सहरको गुप्तमा जाँचबुझ गरी आउन पठाए। तिनीहरू त्यस सहरमा गए र एउटी राहाब नाम गरेकी वेश्याको घरमा राती बास बसे।
[4-6] त्यसले उत्तर दिई, “कोही मानिसहरू मेरो घरमा आए तर तिनीहरू कहाँबाट आएका थिए, त्यो म जान्दिनँ। घाम डुब्दा सहरका मूल-ढोका बन्द हुनुअघि तिनीहरू गइहाले। तिनीहरू कता गए, मैले सोधिनँ, तर झट्टै पछ्याएमा तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।” (राहाबले दुई जासूसलाई घरका कौसीमा लगी त्यहाँ राखेका सनपाटका डाँठहरूका बीचमा लुकाएकी थिई।)
तपाईंहरू मिश्र छोडिआउँदा कसरी परमप्रभुले लाल-समुद्र तपाईंहरूको अघि सुकाइदिनुभयो, त्यो हामीले सुनेका छौं। यर्दनका पूर्वमा दुई जना एमोरी राजा सीहोन र ओगलाई तपाईंहरूले कसरी मार्नुभयो त्यो पनि सुनेका छौं।
अब मैले तपाईंहरूसित व्यवहार गरेझैँ तपाईंहरूले मेरा परिवारसित पनि दयासाथ व्यवहार गर्नुहुनेछ भनी उहाँको नाममा किरिया खानुहोस् र म तपाईंहरूलाई विश्वास गर्न सक्छु भनी बुझाउने केही चिनो दिनुहोस्।
ती मानिसहरूले त्यसलाई भने, “हामीले आफूले भनेझैँ गरेनौं भने परमेश्वरले हाम्रा प्राण लेऊन्। हामी के गर्दै छौं, सो तिमीले कसैलाई भनिनौ भनेदेखि हामी यो प्रतिज्ञा गर्दछौं कि जब परमप्रभुले यो देश हामीलाई दिनुहुन्छ, हामी तिमीसित ठीक व्यवहार गर्नेछौं।”
तिमीले यसो गर्नुपर्छ। हामीले तिम्रा देशमाथि हमला गर्दा तिमीले हामीलाई ओरालेको झ्यालमा यो रातो धागो बाँध्नू र आफ्ना आमा-बुबा, दाजुभाइ र तिनका परिवार पनि एकसाथ लिएर घरमा बस्नू।
कोही घर छोडी गयो भने त्यो आफैं आफ्नो मृत्युको लागि जिम्मेवार हुनेछ। हामी त्यसको जिम्मेवार हुनेछैनौं। तर घरमा तिमीसित बस्ने कसैमाथि खति भए हामी त्यसको जिम्मेवार हुनेछौं।