परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नू, उहाँका सबै मार्गहरूमा चल्नू, उहाँकै आज्ञाहरू पालन गर्नू, उहाँमै लीन भएर रहनू, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नू भनी परमप्रभुका दास मोशाले तिमीहरूलाई दिएका आज्ञा र व्यवस्था पूरा ध्यान दिएर पालन गर।”
(मनश्शेको आधा कुललाई त मोशाले बाशानमा अधिकार दिएका थिए, तर अर्को आधालाई यहोशूले यर्दन वारि पश्चिमपट्टि तिनीहरूका दाजुभाइहरूका बीचमा दिए।) तिनीहरूलाई आ-आफ्ना डेराहरूमा जान बिदा दिँदा यहोशूले तिनीहरूलाई आशीर्वाद पनि दिए,
र तिनीहरूलाई यसो भने, “धेरै धन-सम्पत्ति, र प्रशस्त बस्तुहरू लिएर सुन, चाँदी, काँसो, फलाम र धेरै लुगाफाटाहरू लिएर आ-आफ्ना डेराहरूमा फर्केर जाओ। तिमीहरूका शत्रुहरूबाट लुटेका सबै आफ्ना भाइहरूमा भागबन्डा गर।”
तब रूबेनी, गादी र मनश्शेको आधा कुल, परमप्रभुको आज्ञामुताबिक मोशाद्वारा तिनीहरूले पाएका अधिकारको देश गिलादमा जानलाई इस्राएलीहरूसँग बिदा भएर कनान देशको शीलोबाट फर्के।
“परमप्रभुको सारा समुदाय यसो भन्दछ, ‘तिमीहरूले इस्राएलका परमेश्वरको विरुद्धमा कसरी यस्तो विश्वासघात गरेका छौ? तिमीहरूले अहिले कसरी परमप्रभुको विरुद्धमा बागी बनेर उहाँको अनुसरण गर्न छोड़ेर आफ्ना निम्ति यो वेदी बनाएका छौ?
तर यदि तिमीहरूले अधिकार गरेको देश अशुद्ध छ भने, परमप्रभुको देशमा जहाँ परमप्रभुको पवित्र वासस्थान छ, त्यहाँ आओ, र हाम्रो देशको साझा अधिकार गर। तर परमप्रभु हाम्रा परमेश्वरको वेदी छोड़ेर तिमीहरूका निम्ति अर्को वेदी बनाएर परमप्रभुको विरुद्ध बागी नहोओ।
जेरहको छोरा आकानले अर्पण गरिएका मालमा अपराध गरेको थिएन? अनि क्रोध इस्राएलको सारा समुदायमाथि परेको थियो। त्यो मानिस मात्र आफ्नो अपराधको कारणले मरेको थिएन’।”
“सर्वशक्तिमान् परमेश्वर, हो, परमप्रभु सर्वशक्तिमान् परमेश्वर, उहाँ नै जान्नुहुन्छ, र इस्राएलले जानून्। यदि हामीले बागी भएर परमप्रभुको विरुद्धमा अपराध गरेका रहेछौं भने, आज हामीलाई जीवित नराख।
किनकि तिमीहरू रूबेन र गादका सन्तानका र हाम्रा बीचमा परमप्रभुले यर्दनलाई सिमाना बनाइदिनुभएको छ। परमप्रभुमा तिमीहरूको केही पनि हिस्सा छैन’। यसो भनेर तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई परमप्रभुप्रतिको श्रद्धापूर्ण भय टुटाइदेलान्।
तर हामीहरू र तिमीहरूका बीचमा र हाम्रा पछिका पुस्ताहरूका बीचमा यो साक्षीको रूपमा रहोस्, कि हामीहरूले होमबलि, बलिदान र मेलबलि लिएर परमप्रभुको सेवा उहाँको सम्मुखै गर्नेछौं। अनि तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई भविष्यमा, ‘परमप्रभुमा तिमीहरूको केही हिस्सा छैन’ भनी भन्न नपाऊन्।
“अनि हामीले विचार गर्यौं कि यदि तिनीहरूले हामीलाई वा हाम्रा सन्तानलाई भविष्यमा त्यसो भनिहालेमा हामी भन्नेछौं, ‘हेर, परमप्रभुका वेदीको प्रतिरूप, जो हाम्रा पिता-पुर्खाहरूले होमबलि वा बलिदानको निम्ति होइन, तर हाम्रा र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाए’।
“हामीले परमप्रभुको विरुद्धमा बागी भएर उहाँको पवित्र वासस्थानको सामुन्ने भएको परमप्रभु हाम्रा परमेश्वरको वेदी छोड़ेर, होमबलि, अन्नबलि, र बलिदान चढ़ाउन अर्को वेदी बनाएर आज परमप्रभुलाई पछ्याउन छोड्ने दिन त कहिल्यै नआओस्।”
अनि एलाजार पूजाहारीका छोरा पीनहासले रूबेनका, गादका र मनश्शेका सन्तानलाई यसो भने, “परमप्रभु हाम्रा साथमा हुनुहुँदोरहेछ भन्ने आज हामीले थाहा पायौं, किनकि तिमीहरूले परमप्रभुको विरुद्धमा यो विश्वासघात गरेका रहेनछौ। अब भने तिमीहरूले इस्राएलीहरूलाई परमप्रभुको हातबाट जोगाएका छौ।”
त्यो कुरा इस्राएलीहरूलाई मन पर्यो, र तिनीहरूले परमेश्वरलाई धन्यका भने। फेरि उनीहरूका विरुद्धमा लड़ाइँ गर्न, र रूबेनी र गादी बसेको देश नष्ट पार्न जाने कुरा तिनीहरूले गरेनन्।