तिमीहरूको लागि परमप्रभु तिम्रा परमेश्वरले यी सबै जातिहरूसित के गर्नुभयो, सो सबै देखेका छौ। परमप्रभु तिम्रा परमेश्वरले तिम्रा निम्ति लडाइँ गरिरहनुभएको छ।
पूर्वमा यर्दन नदीदेखि पश्चिममा भूमध्य सागरसम्म ती जातिहरूका देश, जो मैले जितिसकें वा जित्न बाँकी छ, ती सबै मैले तिम्रा कुलहरूलाई सम्पत्तिको रूपमा बण्डा लाइदिएको छु।
र तिम्रा बीचमा छोडिएका यी जातिहरूसित कुनै सम्बन्ध नजोड्नू, तिनका देव-देवताका नाम नलिनू, ती नाम भाकल गर्दा नलिनू, ती देव-देवताको आराधना नगर्नू अनि तिनका अघि आफ्ना शिर ननिहुराउनू।
यो निश्चय जान कि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरू अघि बढेर जाँदा ती जातिहरूलाई फेरि धपाउनुहुनेछैन। तर, तिनीहरू तिम्रा लागि एउटा पासो वा गहिरो खाल्टोजस्ता डरलाग्दा हुनेछन् र तिम्रा पिठ्युँ कोर्राझैँ तथा आँखामा काँडा परेझैँ दु:खदायक हुनेछन्। अनि परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिनुभएको यस असल ठाउँबाट तिमीहरू सबै ननासिएसम्म यो कुरो भइरहनेछ।
“अब मेरो मर्ने बेला आएको छ। तिमीहरू हरेकले आ-आफ्ना हृदय र मनभित्र यो कुरो जान्दछौ कि परमप्रभु तिम्रा परमेश्वरले आफूले प्रतिज्ञा गर्नुभएको हरेक असल कुरो तिमीहरूलाई दिनुभएको छ। उहाँले गर्नुभएको प्रत्येक प्रतिज्ञा पूरा भएको छ, एउटै पनि चुकेको छैन।
परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिनुभएको करार तिमीहरूले पालन गरेनौ भने र अरू देवीदेवताको सेवा र आराधना गर्यौ भने उहाँले आफ्नो क्रोधमा तिमीहरूलाई दण्ड दिनुहुनेछ अनि उहाँले तिमीहरूलाई दिनुभएको यस असल देशमा एक जना पनि रहन पाउनेछैनौ।”