तिनीहरूले तिनलाई भने, “तपाईं अब वृद्ध हुनुभयो, अनि तपाईंका छोराहरू तपाईंका चालमा हिँड्दैनन्। यसकारण अरू जातिहरूजस्तै हामीमाथि शासन गर्नलाई एक जना राजा नियुक्त गरिदिनुहोस्।”
तब परमप्रभुले शमूएललाई यसो भन्नुभयो, “मानिसहरूले भनेका सबै कुरा सुन्। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्। तिनीहरूले मलाई नै इन्कार गरेका हुन्, मलाई नै तिनीहरूले आफ्ना राजा बनाउन इन्कार गरेका हुन्।
मिश्रदेशबाट तिनीहरूलाई ल्याएको दिनदेखि तिनीहरूले मलाई जे-जसो गरे अब तिनीहरूले तँलाई त्यसै गरिरहेका छन्। तिनीहरूले मलाई त्यागेर अरू देवताहरूको पूजा गरेका छन्।
तिनले भने, “तिमीहरूमाथि शासन गर्ने राजा यस्ता किसिमका हुनेछन्: उनले तिमीहरूका छोराहरूलाई आफ्ना रथहरू र घोड़चढ़ीहरूसँग काम गर्न लाउनेछन्, र तिनीहरूलाई आफ्ना रथहरूका अगिअगि दौड़िन लाउनेछन्।
कसै-कसैलाई उनले हजार-हजार र पचास-पचासका दलहरूमा अधिकारी नियुक्त गर्नेछन्। अरूहरूले चाहिँ उनका खेत खनजोत गर्नेछन् र फसल काट्नेछन्। फेरि अरूहरूले चाहिँ उनका लड़ाइँका हतियारहरू र घोड़सवारहरूका अस्त्रशस्त्र बनाउनेछन्।
अनि उहाँले यस्तो जवाफ दिनुभयो, “तिनीहरूले भनेका कुराअनुसार गर्, र तिनीहरूका निम्ति एक जना राजा नियुक्त गर्।” तब शमूएलले इस्राएलका सबै मानिसहरूलाई आ-आफ्नो घरमा पठाइदिए।